Sunday, 15 December 2013

जिउँदा लासहरु

जब
अकर्मण्य जिउँदा लासहरु
आ-आफ्नै डम्फु बजाउंदै
तेरो र मेरो गर्दै
तँ ठुलो कि म भन्दै
अकारण घुर्क्याउँदै
जनमतलाई ब्यङ्ग्य गर्दै
विरहका अलाप जप्दै
गैह्र जिम्मेवार बन्न थाल्छन
धर्तीलाई पनि यी जीवहरु
बोझ लाग्न थाल्छन
अब त
यी बोझ साह्रै भारी हुन थालेछ
तब त
देशका सग्लो जमीन पनि भासिन थालेछ
भीमसेनरुपी ढुंगामा पसिना आउन थालेछ

ढुंगा र माटोले थाम्न नसकेका
यी नर पिसाचहरुलाई
हामीले
अझै कहिले सम्म बोक्ने हो?
अझै कहिले सम्म थाम्ने हो?

ए साथी हो
अब त उठ
बरु ढुंगाले पसिना ओकल्न थाल्यो
माटोले क्रन्दन गर्न थाल्यो
खै तिमी कहिले बोल्ने हो?
खै तिमी कहिले उठ्ने हो?

राजनीतिलाइ ब्यापार बनाई
देशको पसल थाप्नेहरूलाई
भाटाको सिर्कनो लाउनु पर्ने भो
लासलाई झीरले घोंच्नु पर्ने भो

ढिलो गरे अहिले तिमीले
धिक्कार्ने छन् भोलि पिंढीले
आऊ अब
यी जिउँदा लाशहरुलाई
या त देशको निम्ति उठ्ने बनाऔं
नत्र जिउंदै गाड्न जाऔं 

No comments:

Post a Comment