Friday 10 January 2014

जीवन जिउने चाहनाहरु

"जीवन जिउने चाहनाहरु "

जीवन जिउने चाहनामा
खै म कहिले मरेछु पत्तै भएन
असरल्ल बग्रेल्ती छरिएका भावनाहरु
खै कहिले बन्दि भएछन
म खोज्दैछु
आफुलाई आफै भित्र नै
भेट्टाउने नाकाम कोशिसहरु
अझै जारी छ
अनवरत मैले होस् सम्हाले देखि
न छेउ भेट्छु
न टुप्पोको भेउ पाउँछु
ब्रह्मा र विष्णुले
आफु आफुनै ठुलो हुने कोशिसमा
अनन्त शिव लिङ्गको
छेउ टुप्पो खोजे जस्तै....

कहिले फर्किन्छु पछाडि
र खोज्छु आफ्ना अतितहरुलाई
चिथोर्छु आफ्नै बिगतलाई
खै ती विस्मृत स्मृतिले
केहि भेउ नै पाउँदैन
ति बेलाका सबै सजीव आकृतिहरु
आज अनायसै निर्जीव लाग्न थाले
आफुले हिडेका गोरेटोहरु
पहिरोले पुरिएछ
ती झोलुंगे पुलहरू
खियाले चुंडीएछ
खोलो त त्यँही बग्थ्यो क्यारे
त्यहि पनि पो सुकेछ
र ठिङ्ग उभिएको छ रित्तो बगर
मलाई गिज्याउन बाँचे जस्तै.....

अब बिस्तारै बिस्तारै
म खोक्रो हुन थालिसकेछु
डगमगाएको मेरो आत्मबिश्वास
साह्रै नै धर्मराउन थालेछ
भो अब सक्दिन म
यो जीवन जीउने चाहना
एक्लै एक्लै बोकेर हिंड्न
मेरा भावनाहरु खोज्न
स्मृतिलाई फर्काउन
गोरेटोलाई ठम्याउन
मैले चढेका आस्थाका पहाडहरु
अनायासै ढल्न थालेछन
मेरा स्वप्निल खाकाहरु हराएछन्
हार्ड डिस्कबाट
डाटा हराए जस्तै .......

आऊ मेरी प्रिया
मेरो जीवन जीउने चाहनालाई
मुर्तरुप दिन सक्ने
अब त तिमी मात्रै छौ
हो यो बेला मलाई
तिम्रो साथ चाहिएको छ
तिम्रो आढ़ चाहिएको छ
तिम्रो बिश्वास चाहिएको छ
तिमी हुन्छ मात्र भन प्रिय
म फेरि एकपटक
आफु आफै भित्रको
युद्धमा होमिनेछु
तिम्रो लागि
संसार जित्नेछु, योद्धाले जस्तै
जीवन जिउनेछु, प्रेमीले जस्तै...............

(१० जनवरी २०१४, २०७० पौष २६ गते शुक्रबार,  दक्षिण सुडान)









Sunday 15 December 2013

जिउँदा लासहरु

जब
अकर्मण्य जिउँदा लासहरु
आ-आफ्नै डम्फु बजाउंदै
तेरो र मेरो गर्दै
तँ ठुलो कि म भन्दै
अकारण घुर्क्याउँदै
जनमतलाई ब्यङ्ग्य गर्दै
विरहका अलाप जप्दै
गैह्र जिम्मेवार बन्न थाल्छन
धर्तीलाई पनि यी जीवहरु
बोझ लाग्न थाल्छन
अब त
यी बोझ साह्रै भारी हुन थालेछ
तब त
देशका सग्लो जमीन पनि भासिन थालेछ
भीमसेनरुपी ढुंगामा पसिना आउन थालेछ

ढुंगा र माटोले थाम्न नसकेका
यी नर पिसाचहरुलाई
हामीले
अझै कहिले सम्म बोक्ने हो?
अझै कहिले सम्म थाम्ने हो?

ए साथी हो
अब त उठ
बरु ढुंगाले पसिना ओकल्न थाल्यो
माटोले क्रन्दन गर्न थाल्यो
खै तिमी कहिले बोल्ने हो?
खै तिमी कहिले उठ्ने हो?

राजनीतिलाइ ब्यापार बनाई
देशको पसल थाप्नेहरूलाई
भाटाको सिर्कनो लाउनु पर्ने भो
लासलाई झीरले घोंच्नु पर्ने भो

ढिलो गरे अहिले तिमीले
धिक्कार्ने छन् भोलि पिंढीले
आऊ अब
यी जिउँदा लाशहरुलाई
या त देशको निम्ति उठ्ने बनाऔं
नत्र जिउंदै गाड्न जाऔं 

हिमाल र सागर

ए हिमाल,
तिमीले आफुलाई
जत्ति नै अग्लो महसुस गरे पनि
तिम्रो शीरमा रहेको
हिउँ पग्लेर त
बग्दै बग्दै
सागरमै पुग्ने हो
त्यसैले त मलाई लाग्छ
तिमी कहिल्यै पनि
अटल हुन सक्दैनौ

ए सागर,
तिमीले आफुलाई
जत्ति नै गहिरो महसुस गरे पनि
तिम्रो गर्भमा रहेको
पानी बाफिएर त
उड्दै उड्दै
गइ हिमालमै जम्ने हो
त्यसैले त मलाई लाग्छ
तिमी कहिल्यै पनि
गहिरो हुन सक्दैनौ

अस्तित्वको लडाईमा तिमीले 
एक अर्कालाई स्वीकार्नुको
विकल्प छैन
तैपनि किन
तिमीहरु
एक अर्का भन्दा पृथक हुन खोज्छौ?



देश

मेरो देश.........
बिस्कुन मा सुकाएको गुन्द्रुक झैँ
डस्ट बिनमा फालिएको कागज झैँ
बागमतीमा बगेको पानी झैँ
सडकमा परेको खाल्टो झैँ
झरीमा रुझेको बटुवा झैँ
हुरीले भाँचेको हाँगा झैँ
गन्तब्य भुलेको यात्री झैँ
बाबु मरेको टुहुरो झैँ
अस्तव्यस्त हुँदैछ

मेरो देश, म आउँदैछु......
गुन्द्रुकको तरकारी पकाउन
कागजलाई फुल बनाउन
बागमतीलाई सफा गर्न
खाल्टोलाई पुरिदिन
बटुवालाई छाता ओढाउन
यात्रीलाई बाटो देखाउन

टुहुरोलाई सहारा दिन

Thursday 12 December 2013

कविता

कविता (२०७०/०८/२७...१२ दिसेम्बर २०१३)
मेरी प्यारी कविता
आज कोर्छु भन्यो
मूड नै चल्दैन
आ...अब भोलि कोर्छु भन्यो
कापी कलम थन्क्यायो
अनि भोलि पनि फेरी तेस्तै.....
धेरै दिन यसै गरि बिते
यो त अत्ति भयो
आज त तिमीलाई नलेखी छोड्दिन
जे सुकै होस्
जत्ति नै झर्को लागोस
मूड चलोस कि नचलोस
आजको दिन
तिम्रै नाममा लेख्दैछु

हो कतिले तिमीलाई
चुरोट चेपेर लेख्यो
कतिले बोतल धोकेर लेख्यो
कतिले गिलास रित्त्याउँदै लेख्यो

कतिले जोसमा लेख्यो
कतिले होसमा लेख्यो
कतिले त बेहोसिमै लेख्यो
कतिले मायामा लेख्यो
कतिले विरहमा लेख्यो
कतिले खुशीमा लेख्यो
कतिले दुखमा लेख्यो

कतिले घाममा लेख्यो
कतिले छायाँमा लेख्यो

यी तमाम सन्दर्भ भन्दा फरक परिवेशमा
आज म तिमीलाई कोर्दैछु
हो मैले तिमीलाई मेरै लागि कोर्दैछु
नितान्त मेरो आफ्नै लागि
मेरो बिन्ति छ
यसलाई अन्यथा नलिनु है
कठोर निशब्दतालाई चिर्दै
आज हल्ला गर्दै तिमीलाई कोर्दैछु


इति......

फेरी हारियो

फेरि हारियो......(२०७०/०५/२३...८ सेप्तेम्बेर २०१३)- साफ च्याम्पियनसिपमा अफगानीस्तान संग हारेपछि
हाम्रो जित्ने चाहनामा
बैरीको आँखा लागेछ
राम्रै खेलिएको खेलमा पनि
भाग्यको आँखा लागेछ
त्यसैले त होला
पेनाल्टी पनि गोल हुँदैन
जोशले पनि काम गर्दैन
समर्थन त पुरै देशको पाएकै हो नि
तैपनि खै किन हो किन
नतिजा अझै टाढा भाग्दैछ

जनता खुशी माग्दैछ